| जिल्लाको नामाकरण |
| देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ । उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ । यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरुले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ । |
| जिल्लाको ऐतिहासिक पृष्टभुमि |
| यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पा“च पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ । यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका र्राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउँदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ । |
| भौगोलिक अवस्थिति |
| मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१' देखि ८५० ३१' पूर्वी देशान्तरसम्म र २७० १०' देखि २७० ४०' उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ । नौ जिल्लाहरुसंग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फचितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् । क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ बर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो। |
| राजनीतिक विभाजन |
| मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई देहाय बमोजिम निर्वाचन क्षेत्र, इलाका, गाउविकास समिति र नगरपालिकामा विभाजन गरिएको छ । |
| निर्वाचन क्षेत्र नं. | इलाका नं. | गा.वि.स.को नाम | गाविस संख्या |
| १ | १, २, ३, ४ | राइगाउं, फापरवारी, धियाल, वेतिनी, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाडी, मकवानपुर गढी | ११ |
| २ | ४, १०, १२, १३ | आमभञ्ज्याङ्ग, सुकौरा, बुढीचौर, पालुङ्ग, दामन, टिष्टुङ्ग, बज्रबाराही, भैसे, निबुवाटार, भीमफेदी, इपा, कोगटे, चितलाङ्ग, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल | १७ |
| ३ | ३, ७, ८ | हेटौंडा नगरपालिका, पदमपोखरी, बसामाडी, चुरियामाई | ४ |
| ४ | ५, ६, ८, ९, ११, | खैराङ्ग, डांडाखर्क, आग्रा, गोगने, कांकडा, राक्सीराङ्ग, सरिखेत, मनहरी, हांडीखोला, नामटार, कालिकाटार, भार्ता | १२ |