हाम्रो बारेमा
देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ । उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ । यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ ।


